कतै उदेलित ,कतै उम्लिदा रोषहरु ;
जीवन दर्शनका चाहना कतै
कतै च्यातिएका आशा बोकेर
एक निमेष बाँच्ने रहर र खोजहरु !


एक कुनामा बेचैन नयन फरफराई रहेका
त्रासका तुसारोले ओठ थर्थराइ रहेका
कतै बाच्ने आधार भत्किएको
दुखलाई सन्तोनाको थाङ्ग्नोले बेर्दै
अपाङ्ग जीवन घिसार्नेको भीड कतै
त्रासको लप्काले चिथारिएको त्यो प्राण कठै !!


मानिस कोहीलाई दिव्यले छोएको छ
अकुत सम्पति साँचेर पनि विलाशी मन रोएको छ !
कतै मानिस अमरत्वको पोषण गर्छ
त्यहि रक्त्धारी मानव
कतै सहयोगको याचना गर्छ
प्राणी जीवन रहेछ यो लिलामय
प्रभु तिम्रो कृति यो मानव जीवन अतुलनिय !!


कतै अव्यक्त जलन छन् उम्लिएका
त्यहि मध्ये कसैको रहर छन् खोसिएका
उदासिनताले कोहीको मन छन् चिथोरिएका
लुप्त च त्यो चमक आज
छ त केवल मानव तन यो कापेंका


कतै डाहाको लेप छ मनबीच
अतृप्त प्यास छ सौखिन तनबीच
यस्तै रहेछ यो जीवन
छन् कतै माया महानता उप्किएका
कतै छन् इच्छा लुछीएका
समयको पलपल परिबन्द छ कतै
कतै छन् प्राण निमोठीएका
बेचैन मनबीच छ त्यो जीवन डोरी चुडिएका
स्वार्थका अजङ्ग सीमा भित्ता छन् उभिएका
!!